काठमाडौं - एभरेष्ट प्रिमियर लिग (इपिएल)चौथो संस्करणमा पोखरा राइनोजले सानदार जित हात पारेको छ । शनिबार भएको खेलमा पोखराले विराटनगर वारियर्सलाई ७ विकेटले पराजित गरेको हो । 

टियु मैदानमा विराटनगरले दिएको १७३ रनको चुनौतीपूर्ण विजयी लक्ष्य पछ्याउने क्रममा पोखराले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्न सफल भएको हो । पोखराका लागि एसेला गुणारत्नेले अर्धशतक प्रहार गरे । उनी सर्वाधिक ५० रनमा अविजित रहे । रिचार्ड लेभीले ४७ रनको योगदान दिए भने साहन अर्चाचिगे ४३ रनमा क्याच आउट  हुन पुगे । त्यस्तै, कप्तान विनोद भण्डारी १५ रन बनाएर अविजित रहे । 

बलिङतर्फ विराटनगरका प्रतिश जिसी, हरी चौहान र सिकन्दर राजाले समान एक-एक विकेट लिए । त्यसअघि टस जितेर पोखराले पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनाएको थियो । विराटनगरका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४४ रन बनाए । त्यस्तै, सिकन्दर राजाले २९ रन जोडे भने दिलशान मुनाविरा १६ रनमा र अनिल शाह १२ रनमा क्याच आउट भए । साथै कप्तान करण केसी २४ रनमा र सन्दीप रजाइली २८ रनमा अविजित रहे । 

बलिङतर्फ पोखराका विक्रम सोबले २ विकेट लिए भने विवेक कुमार यादव, नन्दन यादव र साहन अर्चाचिगेको नामा समान एकएक विकेट रह्यो । साथै जितविहिन बनेको विराटनगर एक खेल अगाबै लिग चरणबाट बाहिरिएको छ ।