नायिका केकी अधिकारी भन्छिन्,'दीपाश्री छोरी भएर जन्मिनु नै गल्ती
काठमाडौं - नायक राजेश हमाल 'महानायक हो र?' भन्ने अभिव्यक्ति दिएर कलाकार तथा निर्देशक दीपाश्री निरौलाको चौतर्फी विरोध भएपछि नायिका केकी अधिकारीले दीपा छोरी भएर जन्मिनु नै गल्ती भएको बताएकी छिन्।
दीपाको चौतर्फी विरोध गर्नेहरूप्रति व्यङ्ग्य गर्दै सामाजिक संजालमा एक स्टाटस लेख्दै नायिका अधिकारीले दीपा कलाकारिता क्षेत्रमा सफल हुन नै गल्ती भएको बताएकी हुन्।
हमाललाई 'सुपरस्टार' नै होइनन् भन्ने हैसियत आफ्नो नभएको भन्दै दीपाले माफी पनि मागिसकेकी थिइन्। हमाल सुपरस्टार हुनुहुन्थ्यो, हुनुहुन्छ र पछिसम्म रहिरहने बताए पनि हमालका फ्यानले उनको उछितो काढ्न छोडेका छैनन्।
यहाँ हरेकको अभिव्यक्ति स्वतन्त्रता रहे पनि कलाकारिता क्षेत्रका व्यक्तिका अभिव्यक्तिलाई लिएर ट्रोलको सिकार हुने गरेका छन्।
आफ्नो विचार राखेर कसेको चित्त दु:खे पुन माफी माग्नु नै दीपाको गल्ती भएको नायिका अधिकारीले व्यङ्ग्य गरेकी हुन्। उनले लेखेकी छिन्, 'आफ्नो भनाइ अनि विचार किन राखेको भन्या के? अनि फेरि तपाईंले कसैको चित्त नदुखाउन माफी मागेर अति गर्नुभयो।'
अधिकारीकाे स्टाटस
बिगत केही हप्ता यता आमा त्यसै त्यसै त्रसित हुनुहुन्छ। फेसबुकमा खासै सक्रिय हुनुहुन्न आमा तर आजकल हर दिन हर घन्टा आमाको आँखा अनि ध्यान फेसबुक मै हुन्छ। नसा लाग्यो कि क्या हो आमा भनेर सोधेको, होइन तिमीले केही लेखेको छौ कि भनेर हेरिराको भन्नुभो। अहिले चर्किरहेका विषयमा केही भन्ने वा लेख्ने नगर है भन्नुभो। सहनै गाह्रो हुने प्रतिक्रियाहरु आउछन् अनि मेरो मन भतभत पोल्छ भन्नुभो।
म एकछिन घोत्लिए अनि सोचेँ, गल्ती त हाम्रै हो नि दीपा दी,पहिलो गल्ती त तपाईं छोरी भएर जन्मिनु भो। ल त्यस्मा हाम्रो केही चल्दैन, अनि फेरि तपाईं सफल चाहिँ किन हुनुभो? ल त्यो पनि पचाउने प्रयास गरुला , अनि फेरि तपाईंले भयंकर गर्नुभो के , होइन आफ्नो भनाइ अनि बिचार किन राखेको भन्या के ? अनि फेरि तपाईंले कसैको चित्त नदुखाउन माफी मागेर अति गर्नुभो। यो त पराकाष्ठा नै भैगोनी।
गल्ती मान्छेबाट पो हुन्छ त, माफी मान्छेलाई पो दिइन्छ त। अनि थाहा पाइपाइ यत्रो अपराध गरिदिने? हामीलाई तेस्तो अनुमती छ र? यहाँ कुनै दीपा, पूजा , बर्षालाई गल्ती गर्ने छुट छैन है। भन्देको छु नी। मान्छे बन्ने कोशिस नगर्नु।
ल आमा तपाईंले यो पनि हेरिहाल्न्नु हुन्छ, त्यसैले ढुक्क हुनु है। मैले तेस्तो केही लेखेको छैन। हाम्रो समाजकै समर्थनमा लेखेकी छु। मैले मरनासन्न हुने गरि गाली खान्न होला। मेरो चरीत्र जोगिन्छ होला।
फेसबुक पेज Like गर्नुहोस