एजेन्सी - अमेरिकालाई सामान्य अवस्थामा फर्काउन राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन चरणका प्रस्ताव गरेका छन् ।

बिहिबार ट्रम्पले 'ओपनिङ अप अमेरिका अगेन' नामक पहिलो चरणको योजना सार्वजनिक गरेका हुन् । यस चरणमा स्कुल र कार्यालय खोलिनेछ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो योजना कम्तीमा १४ दिन लागू हुनेछ । लामो समय अर्थव्यवस्था बन्द गर्नु कोरोना सङ्कटसँग लड्ने उचित उपाय नभएकाले अघि बढ्नुपर्ने ट्रम्पले बताए ।

योजनाको पहिलो चरणमा सामाजिक दुरी कायम गर्दै स्कुल र कार्यालय खोल्ने उल्लेख छ । यसो गर्दा राज्यमा सङ्क्रमण हुने दर कम भए दोस्रो चरणको बारेमा सोच्न सकिने राष्ट्रपति ट्रम्पको भनाइ छ । योसँगै सीमित सङ्ख्यामा कर्मचारीलाई कार्यालय जाने दिने तर ५० जनाभन्दा धेरै मानिस एक ठाउँमा जम्मा हुन भने पाउने छैनन् ।

तेस्रो चरणमा सबै कार्यालय सामान्य रुपमा खोल्न अनुमति दिइने खबरमा उल्लेख छ ।