काडमाडौं,कैलाली - धनगढीमा ‘लिक’ भएको अवस्थामा ग्यास बाल्दा भएको विस्फोटमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ ।

बुधबार बिहान धनगढी उपमहानगरपालिका वडा नम्बर-८ मा ग्यास विस्फोट हुँदा गम्भीर घाइते भएकी ६५ वर्षीया बिर्मादेवी विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बिर्माको उपचारकाक्रममा काठमाडौंमा मृत्यु भएको जानकारी दिए ।

प्रहरीकाअनुसार घाइते अवस्थामा रहेका मृतकका श्रीमान् हरिलाल विष्ट र उनकी नातिनीको अवस्था भने खतरामुक्त छ । उनीहरुको पनि काठमाडौंमै उपचार भइरहेको निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक विष्टले बताए।

धनगढीमा प्राथमिक उपचारपछि उनीहरुलाई थप उपचारका लागि बुधबारै बेलुका काठमाडौं लगिएको थियो । बुधबार बिहान हरिलालले बजारबाट सिलिन्डर ल्याएर रेगुलेटर लगाउनेक्रममा ग्यास लिक भएको जनाउँदै उनले सोही बेला ग्यास बाल्दा भान्छामा जम्मा भएको ग्यास विस्फोट भएको पाइएको बताए।

पर्याप्त हावा नभएको कोठामा ग्यास लिक भएकै अवस्थामा बाल्दा एक्कासि विस्फोट भएर भान्छा कोठाको छत उडाएको र भित्तासमेत भत्काएको उनले जानकारी दिए ।