काेराेना कहरः देशका ३५ जिल्लामा पूर्ण र १२ जिल्लामा आंशिक निषेधाज्ञा लागू
काठमाडौं - कोरोना संक्रमण रोकथाम तथा नियनत्रणका लागि देशका ४७ जिल्लामा निषेधाज्ञा लगाइएको छ ।
संक्रमणको अवस्था हेरेर ३५ जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ भने १२ जिल्लामा निश्चित ठाउँ तोकेर निषेधाज्ञा घोषणा गरिएको छ । गृह मन्त्रालयका अनुसार कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको निष्कर्ष अनुुसार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा लागू गरेका हुन् ।
स्थानीय प्रशासन ऐन, २०२८ र मन्त्रिपरिषदको निर्णय बमोजिम संक्रमण बढी देखिएको स्थानमा सीडीओहरुले निषेधाज्ञाको आदेश जारी गरेको बताएका छन् ।
गृह मन्त्रालयबाट प्राप्त पछिल्लो विवरण अनुसार हिजोसम्ममा सप्तरी, धुनषा, बाँके, पर्सा, बारा, महोत्तरी, सुनसरी, सर्लाही, स्याङ्जा, सिरहा, काठमाडौं, ललितपुर, भक्तपुर, रौतहट, धनकुटा, पाल्पा, रामेछाप, दोलखामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ ।
यसैगरी नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, कास्की, कैलाली, प्युठान, दैलेख, गुल्मी, कञ्चनपुर, डडेलधुरा, कालिकोट, तेह्रथुम, संखुवासभा, रुपन्देही, चितवन र बैतडीमा पनि जिल्लाभर निषेधाज्ञा छ ।
आंशिक निषेधाज्ञा लागु गरिएका जिल्लामा नुवाकोट, जुम्ला, मोरङ, दार्चुला, झापा, मकवानपुर, धादिङ, उदयपुर, तनहुँ, सुर्खेत, बाग्लुङ, पश्चिम रुकुम र जाजरकोट छन् । महामारी नियन्त्रणका लागि भन्दै कपिलवस्तु र नुवाकोटले जिल्ला प्रशासन कार्यालयबाट हुने सबै सेवा बन्द गराएका छन् ।
फेसबुक पेज Like गर्नुहोस