सभामुखलाई शुभकामना दिँदै देउवाले भने, ‘विपक्षीलाई सधैँ विश्वासमा लिएर अघि बढ्नुस्’
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले नवनिर्वाचित सभामुख को सफल कार्यकालको शुभकामना दिदै आफ्नो तर्फबाट पुर्ण सहयोग रहने प्रतिवद्धता जनाएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटालाई सफलताको शुभकामना दिँदै विपक्षी दललाई सधै विश्वासमा लिएर अघि बढ्न आग्रह गरेका हुन् । विपक्षी दललाई विश्वासमा लिएर काम गर्न सकेमा मात्रै सिंगो संसदले सफलता प्राप्त गर्ने भन्दै उनले त्यस तर्फ गम्भीर हुन सभामुखको ध्यानाकर्षण गराए ।
उनले भने, “मलाई विश्वास छ । सभामुख भईसकेपछि तपाई कुनै पार्टीको सभामुख होइन नि । सम्पुर्ण सभाको सभामुख हो । खासगरी प्रतिपक्षीलाई विश्वासमा लिएर अघि बढ्नुहोला । भोलीका दिनमा तपाईको सफलताका लागि यीनै कुराहरुमा हाम्रो पार्टीले पुरा सहयोग गर्ने बचन दिन्छु ।”
उनले संविधानको मर्म प्रतिकुल हुने विधेयकहरुलाई पास सदनबाट पास गराउन नहुने तर्फ पनि सभामुखको ध्यानाकर्षण गराए । उनले भने, “अहिले प्रधानमन्त्रीले लोकतन्त्रका कुरा गर्नुभयो । खुसी लाग्यो लोकतन्त्रका खिलापका विधेयकहरु हटाउनुपर्यो ।”
उनले कोरोना भाईरस जोखिमको न्यूनिकरणमा विशेष पहल गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए । उनले भने, “कोरोना भाईरसका विरामीहरु नेपालमा छिरिसकेको भन्ने सुनेको छु । कोरोना भाईरस जोखिम न्यूनीकरण गर्न २४ घण्टे हेल्प डेक्स राख्नु पर्यो । चिनसंगको सिधा उडानले झन जोखिम पुर्याएको छ । ”
प्रधानमन्त्रीले आफ्नो सम्बोधनका क्रममा उल्लेख गरेको केही प्राकृतिक धक्काका बारेमा उनले प्रश्न गरे । “प्रधानमन्त्रीले धक्काको कुरा गर्नुभएको छ । के धक्का हो यो ? कहाँबाट आउने हो धक्का । कसले धक्का दिने भएको छ ? कसले धक्का दिनसक्छ हामी पनि हेरुम । धक्का कसले दिँदै छ प्रधानमन्त्री बोल्नुभएको छैन ।”
उनले अमेरिकी सरकारको ठूलो सहयोग रहेकाले एमसीसी अनुमोदन गर्नुपर्नेमा जोड दिए । उनले भने, “अमेरिकाले भनिसक्यो । चिनले बोलिसक्यो हामीलाई आपत्ती छैन भनेर । कसले आपत्ती गरेको छ यहाँ ? ”

.gif)



फेसबुक पेज Like गर्नुहोस