काठमाडौं - विश्वकप फुटबल अन्तर्गत शनिबार बिहान खेलिएको खेलमा आयोजक राष्ट्र अमेरिकाले विजयी सुरुवात गरेको छ ।

पाराग्वेलाई ४–१ गोल अन्तरले स्तब्ध पार्दै अमेरिकाले विजयी सुरुवात गरेको हो । खेलको पहिलो हाफको सात मिनेटमा पाराग्वेले आत्मघाती गोल गरेको थियो ।

अमेरिकाका वेस्टन म्याडनीले दिएको पास पाराग्वेका डिफेन्डर डेनियस बोबाडिलाको खुट्टा ठोक्किएर गोल हुन पुगेको थियो ।

खेलको ३१ मिनेटमा अ‍ेमेरिकाका फ्लोरियन बलागुनले गोल गरे । पहिलो हाफमा थपिएको पाँच मिनेटमा बलागुनले दोस्रो गोल गरे । उनी अमेरिकाका लागि विश्वकपमा दुई गोल गर्ने दोस्रो खेलाडी बनेका छन् । सन् १९३० मा बर्ट प्याटनुडेले उक्त स्कोर गरेका थिए ।

खेलको ७३ औँ मिनेटमा पाराग्वेका लागि मौरिकोले गोल फर्काएपछि खेल ३-१ को अवस्थामा पुगेको थियो । दोस्रो हाफको अन्तिम क्षणमा अमेरिकाका जियोभानो रेनाले गोल गरेपछि खेल ४-१ मा टुंगिएको हो ।

जितसँगै अमेरिका तीन अंक बटुलेर समूह ‘डी’ तालिकाको पहिलो स्थानमा छ । अस्ट्रेलिया र टर्की पनि यही समूहमा छन् ।

अमेरिकाले अब जुन १९ मा अस्ट्रेलिया र जुन २५ मा टर्कीको सामना गर्नेछ । पाराग्वेले भने जुन १९ मा टर्की र जुन २५ मा अस्ट्रेलियाको सामना गर्नेछ ।