काठमाडौं - गृहमन्त्री सुधन गुरुङले स्पेशल टास्क फोर्स बनाएर सीमा क्षेत्रमा सादा पोशाकमा प्रहरी खटाइने बताएका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले उठाएको विषयको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले अबदेखि सीमा क्षेत्रको अवलोकनका लागि गृहमन्त्री आफैं भन्दा पनि स्पेशल टास्क फोर्सले काम गर्ने बताए ।
उनले भने–‘सीमा नाकामा अब गृहमन्त्री जाने भन्दा पनि मिनिस्ट्रियल टास्क फोर्स बनाउने योजना बनाएका छौं । गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ । काम गर्नै गाह्रो हुने रहेछ । कतिपयले स्टन्ट पनि भनिदिनुहुँदो रहेछ । अब हामीले बुझिसक्यौं । अब सादा पोशाकको युनिटले जनताको दुःख सीमामा बुझेर मनिटरिङ गर्छौं ।’
विशेषगरी मधेश, कर्णाली र सुदूरपश्चिमका जनताको आँशुको राजनीति यसअघि धेरै भएको सुनाउँदै अब आफ्नो सबैभन्दा धेरै प्राथमिकतामा यी प्रदेशहरू पर्ने बताए ।
उनले भने–‘मलाई खड्केको विषय भनेको, म एउटा नागरिक हुँदा मधेश, कर्णाली र सुदूरपश्चिम भनेको धेरै जनताको आँशुमा राजनीति भएको ठाउँ हो । जनताले उपलब्धि भएको अनुभव गरेको छैन । जेनजी आन्दोलनपछि हामी सरकारमा त थिएनौं तर विशेष प्राथमिकतामा मधेश, कर्णाली र सुदूरपश्चिममा बजेटका लागि समन्वय गरेका थियौं । अहिले पनि गृहमन्त्रीकै स्पेशल प्रायोरिटिमा छ ।’
त्यहाँका जनताले धेरै नै दुःख पाएको भन्दै उनले अब आँशुको राजनीति नहोस् भन्ने चाहेको बताए । उनले कुनै कमजोरी भयो भने सुधार्दै लैजाने पनि बताए ।

.gif)

