काठमाडौं - नेकपाको प्रचण्ड–नेपाल समूहले बिहीबार गरेको आम हड्तामा १२३ जना पक्राउ परेका छन् । आम हड्ताल सफल बनाउने भन्दै हिँडेका उनीहरुलाई प्रहरीले देशभरीबाट पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, नेताहरु हितमान शाक्य, अमृता थापासहित १२३ जना नेताकार्यकर्ता रहेका छन् । उनीहरुमध्ये ७९ जना काठमाडौँ उपत्यकाबाट पक्राउ परेका हुन् । प्रचण्ड–नेपाल समूहले गरेको आम हड्तालमा उत्श्रृङ्खल गतिविधि हुने भन्दै बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पुस ५ गते संसद् विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको सपथ तथा भूमि आयोग गठन गरेपछि बुधबार नै यो समूहले आम हड्तालको आयोजना गरेको हो ।