काठमाडौं - अरब इमिरेट्स (यूएई)मा अलपत्र परेका १ सय ६८ जना नेपाली नागरिक शुक्रबार काठमाडौं आइपुगेका छन् ।

यूएईको सारजाह विमानस्थलबाट एयर अरेवियाको जी ९ १७५१ नम्बरको विमान साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जसमा १ सय ५५ जना पुरुष र १३ जना महिला रहेका छन् । उनीहरु वैदेशिक रोजगारीका क्रममा यूएई पुगेका थिए । कोरोना भाइरसको महामारीको कारण सबै रोजगारी गुमेपछि समस्यामा परेकालाई सरकारले उद्धार गरेको हो ।

यूएईबाट आउनेमा टान्स गार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना र इजादा फ्यासिलिटी म्यानेजमेन्ट कम्पनीमा कार्यरत ६७ जना छन् । बाँकी अन्य कम्पनीमा कार्यरत थिए । सोही विमानमा एउटा शव पनि ल्याइएको छ। उनीहरुलाई नेपाली सेनाले तोकिएको होल्डिङमा लैजाने तयारी गरेको छ ।  आजै बिहान म्यानमार एयर फोर्सको जहाजले पनि २६ जना नेपालीलाई काठमाडौं ल्याइदिएको थियो।

आज युएईबाट आएकामा प्रदेश नं १ का ४६, प्रदेश नं २ का २३, वाग्मती प्रदेशका ३७, गण्डकी प्रदेशका २३, प्रदेश नं ५ का २३, कर्णाली प्रदेशका चार र सुदूरपश्चिम प्रदेशका १२ जना रहेका छन् । उनीहरुलाई उपत्यकाको तोकिएको होल्डिङ सेन्टरमा लगिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

सरकारले काठमाडौँको यती पार्टी प्यालेस वसुन्धरा, स्काईजन पार्टी प्यालेस सुकेधारा र कुण्डलिनी पार्टी प्यालेस वसुन्धारालाई होल्डिङ सेन्टर बनाएको छ । जगेडाका रुपमा मिराकल पार्टी प्यालेस सुकेधारालाई तयारी अवस्थामा राखिएको छ । काठमाडौँमा रहेका होल्डिङ सेन्टरमा वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का नागरिकलाई छुट्टाछुट्टै रुपमा राखिनेछ ।

भक्तपुरमा एक हजार क्षमताका दुई पार्टी प्यालेसलाई होल्डिङ सेन्टर बनाइएको छ । जसमा सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वेट र मध्यपुरथिमि नगरपालिका–४ स्थित हेरिटेज बैंक्वेट रहेको छ । यहाँ प्रदेश नं १ र २ का नागरिकलाई छुट्टाछुट्टै रुपमा राखिने छ ।

ललितपुरमा ९०० जनाका लागि डिलाईट पार्टी भेन्यू महाक्ष्मीस्थान र मण्डला पार्टी भेन्यू खरिबोट ग्वार्काेमा होल्डिङ सेन्टर बनाइएको छ । जगेडाका रुपमा सिद्धार्थ कलेज धोबीघाट तयार पारिएको छ । यहाँ कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिक राखिने छन् ।

उद्धार गरिएकालाई प्रारम्भिक चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच गरेपछि उपत्यकाका तोकिएका ‘होल्डिङ सेन्टर’ मा राखिन्छ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर सम्बन्धित जिल्लाको क्वारेन्टिन वा सेल्फ क्वारेन्टिनमा पठाइन्छ । त्यसरी नजाँदासम्मका लागि सेन्टरमा उनीहरुको आवश्यक व्यवस्थापनको जिम्मा भने नेपाली सेनालाई दिइएको छ । उपत्यकाका तीन जिल्लामा झण्डै तीन हजार क्षमताका होल्डिङ सेन्टर निर्माण गरिएको छ ।