जोर्डनविरुद्ध नेपालको सुरुवाती-११ सार्वजनिक, ३ खेलाडी परिवर्तन
काठमाडौं - फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा जोर्डनव्रिरुद्ध नेपालको सुरुवाती-११ घोषणा भएको छ ।
जोर्डनविरुद्धको खेलमा नेपाली टोलीमा तीन खेलाडी परिवर्तन गरिएको छ । सुरुवाती-११ मा अभिषेक रिजाल, दीनेश राजवंशी र विकास खवास टोलीमा अटाएका छन् भने सुनिल बल, आशिष लामा र गौतम श्रेष्ठ टोलीबाट बाहिरिएका छन् ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाली टोलीलाई ४-३-३ को रणनीतिमा मैदान उतारेका छन् । नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने छन् । खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा ९:४५ बजे सुरु हुनेछ ।
एसिया कपको लागि सिधै तेस्रो चरणको छनोटमा पुग्नका लागि नेपाललाई आज जित आवश्यक छ । तर जोर्डन नेपालभन्दा बलियो टोली हो र अहिलेसम्म नेपालले जोर्डनलाई पराजित गर्न सकेको छैन । जोर्डन फिफा वरियतामा नेपालभन्दा ७६ स्थान माथि छ । जोर्डन ९५ औं र नेपाल १७१ औं स्थानमा छन् ।
नेपाली टिमले विश्वकप छनोटमै १० वर्षअघि जोर्डनविरुद्ध दुई खेल खेलेको थियो । ‘अवे’ खेलमा ९–० ले स्तब्ध भएको नेपालले त्यसको पाँच दिनभित्रै दशरथ रंगशालामा भएको ‘होम म्याच’ १-१ मा टुंग्याएको थियो । पछिल्लो पटक विश्वकप छनोट अन्तर्गत नै नेपालले जोर्डनसँग २०१९ को अक्टोबरमा खेलेको थियो । जसमा नेपाल ३०ले पराजित भएको थियो ।
चाइनिज ताइपेईविरुद्ध दुई जितसँगै ६ अंक जोडेको नेपाल छनोटको समूह ‘बी’ मा चौथो स्थानमा छ । नेपालले चाइनिज ताइपेमाथि पहिलो-दोस्रो देगमा समान २–० को जित निकालेको थियो । अस्ट्रेलिया १५ अंकसहित शिर्षस्थानमा छ भने कुवेत र जोर्डन समान १० अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस