काठमाडौं - चीनले बंगलादेशलाई करिब १ अर्व डलर(सवा खर्व रुपैंया) सहुलियत दरमा गर्ने घोषणा गरेको छ । यो रकम चीनले अहिलेसम्म बंगलादेशलाई दिएको सबैभन्दा ठूलो ऋण सहयोग हो ।

यो रकम विशेष गरि तिस्ता नदीमा वांध वाध्न र सिंचाई सेवा विस्तार गर्नको लागि खर्च गरिने बंगलादेशी संचारमाध्यमहरुले उल्लेख गरेका छन् । ३१५ किमी लामो तिस्ता नदी भारतको सिक्किम र पश्चिम वंगाल हुंदै बंगलादेशको ब्रम्हापुत्र नदीमा गएर मिसिन्छ । सिमा नदी भएकोले भारत र वंगलादेशबीच लामो समयदखि यो नदीको विषयमा विवाद रहंदै आएको छ । बंगलादेशले पटक पटक त्यो समस्या समाधान गर्न प्रयास गरिरहे पनि भारतको कारण समाधान हुन सकेको छैन ।

तर, अहिले बंगलादेशले तिस्ता नदीमा वांध वाध्नको लागि आफूसंग सहयोग मागेपछि चीनले सहुलियत दरमा ऋण दिने घोषणा गरेको हो । चीनले कति वर्षको लागि कति प्रतिशत व्याजदरमा त्यो ऋण उपलब्ध गराउन लागेको हो भन्ने नखुलाए पनि दुवै देशबीच ऋण लिने दिने विषयमा सहमती भएको बताइएको छ ।

बंगलादेशको जल संशाधन मन्त्रालयका सचिव कबिर विन अनबरले चीनसंग सहमती भएको पुष्टि गर्दै तिस्ता नदीमा वांध बांधेपछि बंगलादेशले खासगरि गर्मी महिनामा भोग्ने खानेपानीको अभाव भोग्नु नपर्ने बताए । ‘ यो बंगलादेशको समस्या समाधानको लागि ड्रीम प्रोजेक्ट हो ।त्यो नदीमा वांध वाधेंपछि त्यसबाट खानेपानी, सिंचाई लगायतका धेरै समस्याहरु समाधान हुनेछन् ।’ अनवरको भनाइ उल्लेख गर्दै बंगलादेशी संचार माध्यमहरुले लेखेका छन् ।

बंगलादेशको जल विकास वोर्डका चिप इन्जिनियर ज्योती प्रसाद घोषले गत असारमा वंगलादेशले चीनसंग सहयोग उपलब्ध गराउन गराउन गरेको आग्रह अनुसार नै सहयोग दिन तयार रहेको घोषणा चीनले गरेको बताए । उनका अनुसार आउंदो डिसेम्बरमा उक्त वांध निर्माणको शिलन्यास गरिनेछ ।

यता, चीन र वंगलादेश विचको यो सहमतीलाई भारतीय संचारमाध्यमहरुले भारतको लागि ठूलो ‘झड्का’ उल्लेख गरेका छन् । उनीहरुका अनुसार बंगलादेशले भारतीय सहयोगमा त्यो वांध बनाउने प्रयास गरे पनि पश्चिम वंगालकी मुख्यमन्त्री ममता बनर्जी र केन्द्रिय सरकार बीचको विवादको कारण बंगलादेश चीनको पोल्टामा गएको उल्लेख गरेका छन् । पछिल्लो समयमा नेपाल जसरी भारत विरोधी र चिनीया समर्थक बन्दै गैरहेकोको छ, अब वंगलादेश पनि त्यस्तै गरि चिनीया पक्षमा ढल्केको र आगामी दिनमा भारतको लागि ठूलो चुनौति हुने उनीहरुको भनाइ छ ।