अर्कै युवक मन पराएको भन्दै एसिड प्रहार
काठमाडौं - नागार्जुनको सिर्जनशील टोलमा बिहीबार राति ८ बजेतिर जुजुधौ (दही) र चिउरा किनेर एक युवती आफ्नो कोठातर्फ जाँदै थिइन् ।
राति त्यसमा पनि झरी भएकाले सडकमा मानिसको आउजाउ पातलो थियो । एक युवक नजिकै आइपुगे र ती युवतीको अनुहारमा एसिड हानेर भागे । गाला र निधार पोल्न थालेपछि उनी आत्तिएर चिच्याइन् । नजिकैका मानिसले उनलाई तत्कालै मनमोहन अस्पताल पुर्याए । मनमोहनले रिफर गरेपछि युवतीलाई कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा पुर्याएर उपचार गरिँदै छ ।
घटनाबारे खबर पाएलगत्तै महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान थालेको थियो । परिसर र महाशाखाको टोलीले कीर्तिपुर अस्पताल पुगेर पीडित २२ वर्षीया पवित्रा कार्कीसँग सोधपुछ गरेको थियो ।
प्रहरीले सीसी क्यामेराको फुटेजका आधारमा एसिड प्रहार गर्ने रौतहट लक्ष्मीपुरका मोहम्मद आलमलाई राति ११ बजे डल्लुबाट पक्राउ गरेको छ । उनलाई सहयोग गर्ने भारतीय नागरिक मुन्ना मोहम्मद पनि पक्राउ परेका छन् । युवतीले अर्को केटालाई मन पराएको भन्दै आलमले ट्वाइलेट सफा गर्ने एसिड प्रहार गरेको प्रहरीले जनाएको छ ।
दुवै जनालाई महानगरीय प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ । प्रहरीका अनुसार बिहीबार साँझ ५ बजेदेखि घटना हुँदाको समयसम्म कार्कीलाई ३ वटा नम्बरबाट ३७ पटक मिस्डकल आएको थियो । उनले कुनै पनि कल रिसिभ गरेको देखिँदैन । ओखलढुंगा चम्पादेवीकी कार्की राजधानीको एक तारे होटलमा एकाउन्टेन्टमा कार्यरत छिन् ।
यसअघि २०७६ भदौमा विद्यालय जाने क्रममा वीरगन्जमा १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको थियो । २०७६ जेठ २ मा राजधानीको कालोपुलमा राति ८ बजे दोलखाका विष्णु भुजेलले आफ्नै श्रीमती जेनी खड्कामाथि एसिड हानेका थिए ।
६ वर्षअघि वसन्तपुरमा जीवन विकले दुई युवतीमाथि एसिड प्रहार गरेका थिए । प्रेम प्रस्ताव अस्वीकार गर्दा र कतिपयमा आपसी झगडाका कारण एसिड प्रहारका घटना भएको देखिएका छन् । कन्तिपुर दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस