काठमाडौं - अक्सिमिटरको कालोबजारीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं प्रशासन, महानगरीय अपराध महाशाखा, औषधी व्यवस्था विभागको संयुक्त टोलीले अनुगमनका क्रममा ठूलो मात्रामा उत्पादन मिति, म्याद समाप्त मिति, खरिद-बिक्री मूल्य नभएका अक्सिमिटरसहित सात जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बल्खु स्थित बायोप्लस फर्माका संचालक शिखर श्रेष्ठ, थापाथली स्थित नानोटेक फर्माका संचालक शेषकान्त अधिकारी, बाजुरा घर भएका थुमराज उपाध्याय, सुनसरी घर भएका पुष्कर घिमिरे, विराटनगरका विशाल आचार्य, सिन्धुलीका सन्तोष भण्डारी र भारतिय नागरिक जगदीश प्रसाद रानासरिया छन् । अक्सिमिटर शरीरको पल्स र अक्सिजनको मात्रा ताप्न प्रयोग हुने गर्दछ । 

उनीहरूको फार्मेसी तथा कम्पनीबाट ७६५ थान नक्कली अक्सिमिटर बरामद गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए । 

बायोप्लस फार्मेसीबाट ८५ थान अक्सिमिटर, नोनोटेक फर्मा थापाथलीबाट २४ थान, चिरायु केडी ग्रुपबाट ९ थान अक्सिमिटर बरामद गरिएको छ।

भारतीय नागरिक रानासरियाको साथबाट सबैभन्दा बढी ३९६ वटा अक्सिमिटर बरामद गरिएको छ।

भण्डारीको साथबाट ९१ थान बरामद गरिएको छ । चिराजु केडी ग्रुप प्रालिले खरिद गरेकोमध्ये १६० थान अक्सिमिटर रुपन्देहीबाट पक्राउ गरिएको छ।पक्राउ परेका सबैलाई कालोबजारी ऐन अन्तर्गत अनुसन्धान भइरहेको खापुङले जानकारी दिए ।