काठमाडौं - स्पेनिस फरवार्ड फेरान टोरेसको ह्याट्रिकमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा जित हात पारेको छ । गएराति भएको खेलमा सिटीले न्युक्यासल युनाइटेडमाथि ४-३को रोमाञ्चक जित निकालेको हो । 

खेलको २५औं मिनेटमा इमिलको गोलबाट घरेलु टोली न्युक्यासलले अग्रता लिएको थियो । ३९औं मिनेटमा जोओ क्यान्सिलोले गोल गर्दै सिटीलाई खेलमा फर्काए । ४२औं मिनेटमा फेरान टोरेसले गोल गर्दै सिटीलाई खेलमा २–१को अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयमा जोइलिन्टनले पेनाल्टीमा गोल गर्दै न्युक्यासललाई २-२को बराबरीमा फर्काए । 

६२औं मिनेटमा जोसेप विललकले गोल गर्दै पुनः न्युक्यासललाई अग्रता दिलाए । विललकको पेनाल्टीलाई गोलरक्षकले बचाएपनि रिवाउन्डमा गोल गरेका थिए । त्यसपछि ६४औं मिनेट र ६६औं मिनेटमा टोरेसले ह्याट्रिक पुरा गर्दै सिटीलाई ४–३ को रोमाञ्चक जित दिलाए । 

जितसँगै च्याम्पियन सिटीले ३६ खेलमा ८३ अंक जोडेको छ । पराजित न्युकासल ३९ अंक जोडेर १६औं स्थानमा छ ।