घरघरमा नाग टाँसेर देशभर मनाइयो नागपञ्चमी
काठमाडौं - श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइँने नागपञ्चमी पर्व आज घरका मूल ढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्वीर टाँसी पूजाआजा गरेर मनाइएको छ । आजको दिनमा घरको मूल ढोकामाथि नागको तस्वीर टाँसेमा नाग, सर्प, बिच्छी जस्ता जीवबाट वर्षभरि दुःख नपाइने धार्मिक विश्वास रही आएको छ ।
साथै चट्याङ, अग्निभय र मेघका कारणसमेत पीडित हुनु नपर्ने भन्ने कुराको उल्लेख बराहलगायतका पुराणमा गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । आजको दिन काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत नेपालभरका नागदह, नागकुण्ड र नागस्थानमा नागको पूजाआजा गरी मेला लाग्ने गर्दछ ।
साथै पशुपतिस्थित वासुकी मन्दिरमा समेत यस दिन विशेष पूजाआजा गर्ने गरिएकोमा यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने देखिएकाले चैत ११ गतेदेखि नै मूल मन्दिर बन्द गरिएको छ । जसका कारण भक्तजनले बाहिरैबाट मात्र दर्शन गर्न पाएका छन् । यस वर्ष साउनको पहिलो सोमबार पनि भक्तजन पशुपतिको मूल मन्दिरभित्र पस्न पाएनन्
। आज नाग पूजा गरेपछि खेतबारीमा खनजोत नगरी किसानलेसमेत आराम गर्ने गर्दछन् । आजको दिनमा खनजोत गरेमा नाग मारिन्छन् भन्ने धार्मिक विश्वास छ । घर, खेत, बारीमा पनि नागले बास गर्छन् भन्ने वैदिक मान्यता छ । नागपञ्चमीका दिन विधिपूर्वक पूजाआजा गरी घरको मूल ढोकामा नाग टाँसेमा वर्षभर विद्युत्, अग्नि, सर्प, चट्याङ लगायतको भय नहुने धार्मिक विश्वाससमेत नेपाली समाजमा छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस