एजेन्सी - कोरोना संक्रमणबाट बच्न मास्क लगाउन आनाकानी गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बोली फेरिएको छ । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या लगातार बढ्दै गएपछि ट्रम्पले मास्कको पक्षमा बोल्न थालेका हुन्।

अनिवार्य मास्क लगाउनु पर्ने आफ्नै प्रशासनको आधिकारिक निर्देशन अवज्ञा गर्दै आएका ट्रम्पले अहिले आएर मानिसहरुको अति भिड भएको स्थानमा आफूले मास्क लगाउने बताउन थालेका हुन् ।

एक शीर्ष रिपब्लिकन नेताले उदाहरणका रुपमा मास्क लगाउन ट्रम्पलाई सुझाव दिएको भोलिपल्ट फक्स न्यूजसँग कुराकानी गर्दै ट्रम्पले मानिसको अति भिड भएको स्थानमा मास्क लगाउने बताएका हुन् ।

अमेरिकामा अहिलेसम्म २६ लाख भन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये एक लाख २७ हजार भन्दा धेरैको ज्यान गएको छ ।