काठमाडौं - नेपालमा यो वर्ष मनसुन शुरू भएयता पहिरोका घटनामा परी १०० जनाको मृत्यु भएको छ। यो वर्ष जेठ ३० गतेबाट मनसुन शुरू भएको थियो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापना प्राधिकरणका अनुसार मनसुन शुरू भएयता पहिरोका घटनाका परी ४६ जना बेपत्ता र ८४ जना घाइते भएका छन्।

मनसुन शुरू भएयता बाढीका घटनामा परी मर्नेको संख्या तीन छ। यो अवधिमा बाढीका घटनामा पाँचजना बेपत्ता र एकजना घाइते भएका छन्।

मनसुन शुरू भएपछि चट्याङ लागेर १७ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। यो अवधिमा चट्याङ लागेर ४२ जना घाइते भएका छन्।

समग्रमा मनसुन शुरू भएयता पहिरो, बाढी र चट्याङ्‍का घटनामा १२० जनाको मृत्यु भएको छ।

२०७७ वैशाख १ गते यता भने पहिरो, बाढी र चट्याङ्‍का घटनामा ज्यान गुमाउनेको संख्या १५५ जना पुगेको छ। यो वर्षको वैशाख १ देखि साउन १ सम्म तीन महीनाको अवधिमा पहिरोका घटनामा परी १०२, बाढीका घटनामा ६ र चट्याङ लागेर ४७ जनाको मृत्यु भएको प्राधिकरणद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।