काठमाडौं - नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नेपाल क्रिकेट संघ (क्यान)को निर्णयलाई चुनौति दिन नमिल्ने बताएका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।

दोस्रो पटक टिमको जिम्मेजारी सम्हालेपछि पत्रकारहरुसँग कुरा गर्दै दासानायकेले क्यानले निर्णय गरिसकेकोले पछाडि फर्किन नसक्ने बताएका हुन्। उनले टिमको कप्तान परिवर्तनको अधिकार क्यानलाई हुने भन्दै पछाडि फर्कन नसक्ने बताएका हुन्।

अनुशासनको कारण देखाउँदै क्यानले मंसिर २९ गते कप्तान ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा सुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको थियो। सो कारबाहीबारे चर्को विरोध भइरहँदा प्रशिक्षक दासानायकेले क्यान र खेलाडीहरुको विवादमा आफू नपर्ने बताएका हुन्।

उनले क्रिकेट टिममा राम्रो वातावरण बनाउन प्रयास गर्ने बताएका छन्। आफूले खेलाडी तथा सम्बन्धित निकायसँग छलफल गर्ने भन्दै निर्णयलाई चुनौति भने दिन नसक्ने बताएका छन्। उनले भोली (शुक्रबार)सम्म बन्द प्रशिक्षणका लागि ३० जना खेलाडीको सूची तयार पार्ने जानकारी दिएका छन्।

क्यानले गत मंसिर २५ गते दासानायकेलाई पुनः मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको थियो। उनी दोस्रोपटक नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन्। यसअघि सन् २०११ देखि २०१५ सम्म पुबुदु नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक रहेका थिए।