दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन हमला, ४ जना घाइते
एजेन्सी - मध्यपूर्वमा जारी युद्धका बीच संयुक्त अरब इमिरेट्सको दुवई इन्टरनेशलन एपरपोर्ट नजिक ड्रोन प्रहार भएको खबर सार्वजनिक भएको छ।
दुबई मिडियाका अनुसार दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै बुधबार ड्रोन खस्दा एक भारतीय नागरिकसहित चार जना घाइते भएका छन्। घटनामा भारतीय नागरिक मध्यम घाइते भएका छन् भने दुई घानाका नागरिक र एक बंगलादेशी नागरिक सामान्य घाइते भएका छन्।
सामाजिक सञ्जाल एक्समा जारी वक्तव्यमा दुबई मिडिया अफिसले विमानस्थल आसपास क्षेत्रमा ड्रोन खसेको पुष्टि गर्दै हवाई उडान भने सामान्य रूपमा सञ्चालन भइरहेको जनाएको छ।
गत शनिबार पनि दुवई इन्टरनेशलन एपरपोर्ट नजिकै ड्रोन प्रहार भएको थियो । हालसम्म उक्त घटनामा मानवीय क्षति भएको पुष्टि भने भएको थिएन्। रिपोर्टहरूका अनुसार दुबई विमानस्थलमा भएको घटनापछि केही समयका लागि उडान सञ्चालन प्रभावित भएको थियो । पागुन १६ गते भने अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा २९ वर्षीय नेपाली नागरिक दिवस श्रेष्ठको मृत्यु भएको थियो ।
यसैबीच, क्षेत्रीय तनावका बीच इरानले खाडी क्षेत्रका विभिन्न लक्ष्यमा मिसाइल र ड्रोन आक्रमण गरेको बताइएको छ। इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेपछि इरानले साउदी अरेबियाको तेल पूर्वाधार र संयुक्त अरब इमिरेट्सको तट नजिक रहेको जहाजलाई समेत निशाना बनाएको बीबीसीले जनाएको छ।
साउदी अरेबियासहित केही देशहरूले भने आफ्ना हवाई प्रतिरक्षा प्रणालीमार्फत धेरै ड्रोन आक्रमणलाई अवरोध गरेको बताएका छन्।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरेको आक्रमणपछि यो युद्ध सुरु भएको थियो । मार्च ११ सम्म युद्धमा एक हजार १४०० भन्दा बढी मानिस मारिएका छन् भने १० हजारभन्दा बढी नागरिक घाइते भएका छन् ।
इजरायल र इरानबीच बढ्दै गएको युद्ध दोस्रो सातामा प्रवेश गरिसकेको छ। इजरायल र अमेरिकाले इरानका सैन्य तथा आणविक संरचनामा आक्रमण जारी राखेका छन् भने इरानले पनि मिसाइल र ड्रोनमार्फत विभिन्न स्थानमा जवाफी हमला गरिरहेको छ।
पछिल्लो समय यूएई, कतार, साउदी अरब र बहराइन जस्ता देशहरूमा मिसाइल र ड्रोन हमलाका घटनाहरू भइरहेका छन्, जसले क्षेत्रीय सुरक्षामा थप चिन्ता बढाएको छ।
युद्धको असर विश्वभर महसुस हुन थालेको छ । संयुक्त राष्ट्र व्यापार तथा विकास एजेन्सीले इन्धन र खाद्यान्नको मूल्य बढ्दै जाँदा विश्वका कमजोर समुदाय सबैभन्दा बढी प्रभावित हुने चेतावनी दिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस