काठमाडौं - दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन आज नेपाल आउँदै छन् ।
भोटेकोसी बाढी–पहिरोपछि बेपत्ता भएका कोरियाली नागरिकको खोजी तथा उद्धारमा नेपालसँग सहकार्य र सहयोगका विषयमा छलफल गर्न उनी नेपाल आउन लागेका हुन् ।
दक्षिण कोरियाली विदेश मन्त्रालयका अनुसार चो तीनदिने नेपाल भ्रमणमा आउनेछन्। भ्रमणका क्रममा उनले नेपाली समकक्षी परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्नेछन् भने बाढीपछि बेपत्ता भएका कोरियाली नागरिकका परिवारसँग समेत भेट गर्ने कार्यक्रम छ।
भदौ १० गते तिब्बत हुँदै रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि जलविद्युत् आयोजना निर्माणमा कार्यरत नौ जना दक्षिण कोरियाली नागरिक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा डुसान इनर्जीबिलिटीका छ जना र कोरिया साउथ–इस्ट पावरका तीन जना कर्मचारी छन्।
नेपाल भ्रमणका क्रममा विदेशमन्त्री चोले परराष्ट्रमन्त्री खनालसँगको भेटमा बेपत्ता कोरियाली नागरिकको खोजी कार्यलाई थप प्रभावकारी र तीव्र बनाउन नेपाल सरकारसँग आग्रह गर्ने बताइएको छ।
भेटवार्तामा बाढी–पहिरो प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणमा दक्षिण कोरियाले गर्न सक्ने सहयोगका विषयमा समेत छलफल हुनेछ। साथै, दुई देशबीचका आपसी सम्बन्ध र अन्य द्विपक्षीय विषयमा पनि विचारविमर्श हुने दक्षिण कोरियाली विदेश मन्त्रालयले जनाएको छ।
नेपालमा परिचालित कोरिया डिजास्टर रिलिफ टिम (केडीआरटी) लाई विदेशमन्त्री चोले घटनास्थलमै पुगेर भेट्ने तथा उद्धारमा खटिएका टोलीलाई हौसला दिने कार्यक्रमसमेत रहेको छ।
चोले बेपत्ता कोरियाली नागरिकको खोजीमा परिचालित सम्बन्धित कम्पनीका प्रतिनिधिहरूसँग पनि भेट गर्नेछन्।
दक्षिण कोरियाली सरकारले खोज तथा उद्धारका लागि नेपाल पठाएको केडीआरटीले नेपाली सुरक्षाकर्मी तथा सम्बन्धित कम्पनीका उद्धार टोलीसँग सहकार्य गर्दै बेपत्ताको खोजी गरिरहेको छ। टोलीले हेलिकप्टर, ड्रोन, खोजी कुकुर तथा थर्मल इमेजिङ प्रविधिसहितका अत्याधुनिक उपकरण प्रयोग गरिरहेको छ।

.gif)


