मोटरसाइकलको ठक्करबाट परराष्ट्र मन्त्रालयकी शाखा अधिकृतको मृत्यु
काठमाडौं - काठमाडौंको सिंहदरबार गेटमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
बिहीबर साँझ हनुमानस्थानबाट अनामनगर चोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले पैदलयात्री अनामनगर बस्ने परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत ३२ वर्षीया आस्था सुब्बालाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी सुब्बाको उपचारको क्रममा काठमाडौं मोडल अस्पतालमा मृत्यु भएको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।
२०६९ मा सेवा प्रवेश गरेकी सुब्बा मन्त्रालयको संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय संघ संगठन तथा अन्तर्राष्ट्रिय महाशाखामा कार्यरत थिइन् । कार्यालय सकाएर घर जाँदै गरेकी उनलाई बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो ।
सुब्बाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । झापा धुलाबारीकी सुब्बाका श्रीमान र एक छोरा छन् । सुब्बालाई ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा घाइते मोटरसाइकल चालकको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस