काठमाडौं - कोरोनाभाइरसको संक्रमणविरूद्ध लड्न अमेरिकाले पठाएको सामानहरूमध्ये केही सामान बोकेर पहिलो जहाज काठमाडौं आइपुगेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सहयोग नियोग युएसएड र अमेरिकी दूतावासका प्रतिनिधिले स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमलाई सामग्री हस्तान्तरण गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकाले सर्जिकल मास्क, फेससिल्ड, पञ्जालगायत स्वास्थ्यकर्मीलाई चाहिने अन्य आवश्यक सामग्री दिएको जनाएको छ। यसअघि १०० थान भेन्टिलेटर, परीक्षण किट्स, पीपीई, अक्सिजन उपकरण अमेरिकाले दिएको थियो ।

गएका तीन सातामा नेपाललाई १ करोड ५० लाख डलर बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको युएसएडले जनाएको छ।

युएसएडले आइतबार १००० थान अक्सिजन सिलिन्डर प्रदान गर्ने तयारी गरेको छ ।