काठमाडौं - दक्षिण कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रकृया पूरा गरी उडानको पर्खाइमा रहेकाहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।

कोरोना संक्रमणको जोखिमका कारण सम्पूर्ण उडानहरु बन्द भएपछि सम्पूर्ण प्रकृया पुरा भएपनि कोरिया जान नपाएकाहरुले माइतीघरमा सामाजिक दुरी राखेर प्रदर्शन गरेका हुन् ।

दुई हप्ताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे ३ हजारबढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरुले बताएका छन् । रोजगारी गुमेपछि अहिलेसम्मको समय र मिहेनत खेर जाने, डिप्रेसनको सिकार हुने डर युवाहरुमा देखिएको छ । सरकारले आफ्ना मागहरु पुरा नगरे थप आन्दोलन गर्ने चेतावनी युवाहरुले दिएका छन् ।

ईपीएस अन्तर्गत कोरियन भाषा परीक्षा पास गरी रोजगारदाताको छनोटमा परिसकेका चार हजारभन्दा बढी नेपाली श्रमिकहरु कोरिया जान पाएका छैनन् । उनीहरुले दक्षिण कोरियाको उडान सुरु गरेर आफुहरुलाई पठाउन माग गर्दै आएका छन् । सरकारले यसअघि नै कोरिया जान दिने निर्णय गरेपनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।