काठमाडौं - बलिउड नायक आमिर खान र टर्कीकी फर्स्ट लेडीबीच शनिबार भएको भेटघाट पश्चात् सप्ताहन्तमा आमिर खान र एर्दोगान ट्वीटरको टप ट्रेन्डमा पर्न सफल भए । यी दुईबीचको भेटले प्रशंसकबीच राम्रो छाप छोड्न सकेन जसका कारण आमिर खानको नयाँ फिल्म ‘लाल सिंह चड्डा’ सोमबार ट्वीटरको शीर्ष ट्रेन्डमा पर्न सफल भयो ।

भारत र टर्कीबीचको सम्बन्ध तनावग्रस्त भइरहेका बेला खान र एर्दोगानबीच भेट हुँदा थुप्रै प्रशंसकले सोमबार आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।

खानसँग निराश भएका थुप्रै प्रशंसकले अन्य मानिसहरुलाई आमिर खानको नयाँ फिल्मको ट्रेलर सार्वजनिक भएपछि डिसलाइक बटन थिच्न तयार भएर बस्न आग्रह गरेका छन् ।यद्यपि, कति प्रशंसकले भने आमिर खानले टर्कीकी फर्ट लेडीलाई भेट्नुलाई सकारात्मक तरिकाले पनि हेरेका छन् ।

टर्कीको राष्ट्रपति कार्यालयको आधिकारिक वेबसाइटका अनुसार फर्ट लेडी एमाइन एर्दोगानले आमिरलाई इस्तानबुलको हुबेर म्यानसनस्थित राष्ट्रपति निवासमा शनिबार भारतको ७४ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा भेटेकी हुन् । फर्स्ट लेडीले आमिर खानसँगको तीनवटा फोटो ट्वीटरमा पोस्ट गरेर फिल्म लाल सिंह चड्डा टर्कीको विभिन्न स्थानमा छायांकनपश्चात् सम्पन्न हुने जानकारी दिएकी छिन् ।

कोभिड–१९ का कारण भारतमा फिल्म समापन गर्न नसकिने भएपछि खान गत हप्ता टर्की पुगेका थिए । आमिर खानको नयाँ फिल्म ‘लाल सिंह चड्डा’ सन् १९९५ मा रिलिज भएको टम ह्याङ्क्सको फिल्म ‘फरेस्ट गम्प’ को अफिसियल रिमेक हो ।