विपदमा परी मृत्यु भएका व्यक्तिको परिवारलाई दुई लाख राहत
काठमाडौं - सरकारले विपदमा परेर मृत्यु भएकाको परिवारलाई दुई लाख राहत दिने भएको छ । विपदमा परी कुनै परिवारमा एकजनाको मृत्यु भएमा २ लाख, सोही परिवारमा अन्य व्यक्तिको पनि मृत्यु भएमा प्रति व्यक्ति थप १ लाखका दरले राहत उपलब्ध गराउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राहत एकद्वार नीतिमार्फत उपलब्ध गराइनेछ । तर एकाघरका परिवारका सबै सदस्यको मृत्यु भएमा भने राहत उपलब्ध गराइने छैन ।’
विपदबाट घर, बहाल, आवास नष्ट भएमा खाद्यान्न बाली तथा जग्गा जमीन वा पसल व्यवसायसमेत नोक्साी भएमा तत्काल गुजाराको लागि प्रतिपरिवार पाँचजनासम्म सदस्य भए १५ हजार र पाँजजनाभन्दा बढी सदस्य भएमा २० हजार उपलब्ध गराउने निर्णय पनि भएको छ ।
विपदबाट बसोबास गरिरहेको घर पूर्णरुपमा नष्ट नभएतापनि सम्भावित खतराबाट जोगिन सुरक्षित स्थानमा नयाँ घर निर्माण गर्नुपर्ने भएमा जिल्ला विपद् व्यवस्थापन समितिबाट निर्णय गरि प्रति परिवार एकलाखसम्म उपलब्ध गराउने निर्णय पनि भएको छ ।
‘तर मनसुनको अवधिमा बाढी, पहिरो र डुबान तथा कटानलगायतका कारणबाट घरबारबिहीन भएका परिवारका लागि २०७२ सालको भूकम्प पीडितलाई प्रदान गरिएको विधि र प्रक्रियाबाट सहरी विकास मन्त्रालयले आवास निर्माण गर्ने व्यवस्था मिलाउने,’ निर्णयमा भनिएको छ ।
सरकारले विपद पीडित उद्धार तथा राहत व्यवस्थापनमा खटिने व्यक्तिलाई उचित पुरस्कारको घोषण गरेको छ । उद्धार र राहतको काममा खटिने समाजसेवी, राजनीतिक व्यक्ति, व्यवसायी, सामाजिक संघसंस्था एवं राष्ट्रसेवक कर्मचारीलाई पुरस्कार दिन प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले गृह मन्त्रालयमा सिफारिस गर्न सक्नेछन् ।
फेसबुक पेज Like गर्नुहोस