एजेन्सी - भारतीय टीभी अभिनेत्री प्रेक्षा मेहताले इन्दौरस्थित आफ्नै घरमा आत्महत्या गरेकी छन् । २५ वर्षकी ती अभिनेत्री बिगत दुई वर्षअघि इन्दौरबाट मुम्बई पुगेकी थिइन् । उनले आफ्नै घरमा फाँसी लगाएर आत्महत्या गरेको बताइएको छ ।

उनले क्राइम पेट्रोलका केही भागमा काम गरेकी छन्। प्रेक्षा ‘मेरी दुर्गा’ र ‘नाल इश्क’ लगायतका धारावाहिकमा पनि खेलेकी थिइन् । लकडाउनका कारण उनी मुम्बईबाट इन्दौर आफ्नो घर गएकी थिइन् ।

मृतक प्रेक्षाका पिताका अनुसार उनी तनावमा थिइन् । हिजो राति उनले फाँसी लगाएर आफ्नो ज्यान दिएको उनले बताए । बिहान छोरी उठाउन जाँदा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । तुरुन्त अस्पताल लगिए पनि उनलाई बचाउन नसकिएको जनाइएको छ । अहिलेसम्म सुसाइड नोट भेटिएको छैन भने पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रेक्षा नयाँ कलाकार हुन् । उनले धेरै नाटकमा अभिनय गरेर पुरस्कार पनि पाएकी छन् । उनका भिडियो एल्बम पनि निस्केका छन् । अक्षय कुमारको फिल्म ‘प्यडम्यान’ मा पनि उनले अभिनय गरेकी थिइन् ।