प्रचण्डको राजनीतिक प्रतिवेदनपछि देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्ने
काठमाडौं - नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र चलिरहेको छ । जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।
अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि विधान मस्यौदा प्रस्तुत गर्ने कार्यक्रम छ । स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नेछन् । प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान मस्यौदामाथि समूहमा विभाजन गरी छलफल हुने माओवादीले जनाएको छ ।
कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरेर प्रस्तुत गरिरहेका हुन् । अध्यक्ष प्रचण्डले विभिन्न सात बुँदामा ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन तयार पारेका छन् ।
अध्यक्ष प्रचण्डले प्रतिवेदनमा सशस्त्र द्वन्द्व र जनआन्दोलनपछि नेपाली जनताले प्राप्त गरेका उपलब्धि उल्ट्याउन अझै पनि निरङ्कुश तत्वहरुले टाउको उठाइरहेको विश्लेषण गरेका छन् । यस्तै उनले नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीति कार्यनीतिको बारेमा प्रष्ट्याउने प्रयास गरेका छन् ।
बन्दसत्रमा कूल एक हजार ६ सय बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् । आइतबारबाट सुरु भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ । सो महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ ।
फेसबुक पेज Like गर्नुहोस