एजेन्सी - इजरायलको आक्रमणपछि ५० मुस्लिम राष्ट्रका शीर्ष नेताहरू कतारको राजधानी दोहामा आपतकालीन बैठकमा सहभागी भएका छन् ।

अरब लिग र इस्लामिक सहयोग संगठन (ओआईसी) ले आह्वान गरेको उक्त बैठकले सेप्टेम्बर ९ मा दोहामै भएको इजरायली आक्रमणको जवाफ दिने रणनीति तय गर्ने उद्देश्य लिएको छ ।

सो आक्रमणमा हमासका पाँच सदस्यसहित एक कतारी सुरक्षा अधिकारीको ज्यान गएको थियो । हमासको टोली त्यतिबेला गाजामा दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्न अमेरिकी प्रस्तावबारे छलफल गर्न दोहामा रहेको थियो।

बैठकअघि इरानका राष्ट्रपति मसूद पजश्कियानले मुस्लिम राष्ट्रहरूलाई इजरायलसँग सबै कूटनीतिक सम्बन्ध तोड्न आह्वान गर्दै एकजुट भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिए। उनले भने, “यो केवल हमास वा कतारमाथि आक्रमण होइन, सम्पूर्ण इस्लामिक जगतमाथिको चुनौती हो।”

यता, पाकिस्तानले मुस्लिम देशहरूले ‘नेटो’ शैलीको संयुक्त सैन्य बल ९ज्वाइन्ट फोर्स० गठन गर्नुपर्ने सुझाव अघि सारेको छ। पाकिस्तानको प्रस्तावले इस्लामिक राष्ट्रहरूबीच सैन्य सहकार्य र सामूहिक सुरक्षा नीतिलाई बलियो बनाउन सक्ने अपेक्षा गरिएको छ।

शिखर सम्मेलनको उद्घाटन सत्रमा कतारका अमीर शेख तमिम बिन हमाद अल–थानीले इजरायललाई कठोर शब्दमा आलोचना गर्दै भने, “इजरायलले मानवताविरुद्धका अपराधमा सबै सीमा पार गरिसकेको छ। अब मौन बस्नु इस्लामिक राष्ट्रहरूको विकल्प होइन।”

दोहाको यो विशेष बैठकले मुस्लिम राष्ट्रहरूबीचको राजनीतिक र सैन्य सहकार्यलाई नयाँ मोड दिने अपेक्षा गरिएको छ, जसले मध्यपूर्वीय राजनीति र इजरायलसँगको सम्बन्धमा गहिरो प्रभाव पार्न सक्ने देखिएको छ।