काठमाडौं - साविक उपविजेता फ्रान्स युरोपेली च्याम्पियनसिप २०२० बाट बाहिरिएको छ । गएराति भएको हीनतम १६को खेलमा लाई पेनाल्टी सुटआउटमा ५-४ले पराजित गर्दै स्विट्जरल्यान्डले क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल ३-३ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरमा धकेलिएको थियो । खेलको १५ औं मिनेटमा हरिस सेफेरोभिचले गोल गर्दै स्विट्जरल्यान्डलाई सुुरुवाती अग्रता दिलाए । खेलको ५५ औं मिनेटमा रिकार्डो रोड्रिगेजले पेनाल्टीमा गोल गर्न चुकेपछि स्विट्जरल्यान्ड अग्रता दोब्बर पार्ने सुवर्ण अवसर खेर फाल्यो । 

त्यसको दुई मिनेटको अन्तरमा करिम बेन्जेमाले गोल गर्दै फ्रान्सलाई खेलमा फर्काए । खेलको ५९ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दा फ्रान्सले २-१ को अग्रता लियो । ७५ औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै फ्रान्सलाई ३-१को अग्रता दिलाए । त्यसपछि ८१ औं मिनेटमा स्विट्जरल्यान्डका सेफेरोभिचले  व्यक्तिगत दोस्रो गोल र ९०औं मिनेटमा स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिचले गोल गरेपछि खेल ३-३ को अवस्थामा आइपुग्यो । 

त्यसपछि पेनाल्टी सुटआउटमा धकेलिएको खेलमा फ्रान्सका लागि पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गरे । तर, वा फरवार्ड किलीयन एमबाप्पे चुके । एम्बाप्पेको प्रहारलाई गोलरक्षक यान सोमरले विफल पारेका थिए ।

यस्तै, स्विट्जरल्यान्डका लागि मारियो गाभ्रानोभिच, फाबियन, अकान्जी  म्यानुएल, रुबेन भेर्गास र एडमिर मेहमेदीले पेनाल्टीमा गोल गर्न सफल भए । स्विट्जरल्यान्ड ६७ वर्षपछि पहिलो पटक  युरोपेली च्याम्पियनसिको क्वाटरफाइनलमा पुगेको हो । यससँगै स्विट्जरल्यान्डले क्वाटरफाइनलमा स्पेनको सामना गर्नेछ ।