बानियाँ बागमतीको मुख्यमन्त्री बन्दै
काठमाडौं - सुदूरपश्चिमका बाजुरा र अछाममा वर्षौंदेखि सडक अलपत्र पार्ने ठेकेदार इन्द्रबहादुर बानियाँ आज बागमती प्रदेशको मुख्यमन्त्री बन्दै छन् ।
नेपाली कांग्रेसका नेता तथा सांसद बानियाँको साझेदारीमा रहेका निर्माण कम्पनीहरूले जिम्मा पाएका सडकहरू सुदूरपश्चिममा लामो समयदेखि अधुरै छन् ।
प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बानियाँलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका हुन् । तर, उनी संलग्न कम्पनीहरूले पाएको ठेक्का कार्यमा लापरबाही भएको आरोप छ ।
अछामको ३८ किलोमिटर जयगढ–रामारोशन सडक २०७४/०७५ सालमा सुरु भए पनि अझै सम्पन्न भएको छैन । १५ करोड बजेटमध्ये साढे १३ करोड फिर्ता हुनुपरेको पूर्वाधार विकास कार्यालय अछामले जनाएको छ ।
त्यस्तै, बाजुराको कोल्टी–मार्तडी सडकमा पनि दोस्रो र तेस्रो प्याकेजमा बानियाँको साझेदारी रहेको कम्पनीले अहिलेसम्म आधा मात्र काम सम्पन्न गरेको छ । पटक–पटक म्याद थप भए पनि निर्माण कार्य सुस्त गतिमा छ ।
सुदूरपश्चिम प्रदेशसभामा माओवादी सांसद अक्कल बहादुर रावलले यो मुद्दा उठाउँदै भनेका छन्, ‘काम नगर्ने ठेकेदारलाई मुख्यमन्त्री बनाएर पुरस्कृत नगर्नुहोस्।’
यद्यपि, निर्माण पक्षले आर्थिक स्रोत अभावलगायत कारण देखाउँदै काम ढिलो भएको दाबी गर्दै आएको छ । सोमबार नेपाली कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका बानियाँ आज मुख्यमन्त्रीमा नियुक्ति हुनेछन् ।
फेसबुक पेज Like गर्नुहोस