काठमाडौं - काठमाडौं उपत्यकामा थप ३०१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा २३० जना, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै देशभर कोरोना भाइरसका ८८५ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८८५ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ३८५ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १९ हजार ५०४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५६ दशमलव ६ प्रतिशत रहेको छ ।आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ७३९ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १३ हजार २५३ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ३५  हजार ५२  जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ८ हजार ७११ जना र होम आइसोलेसनमा ६ हजार २८ रहेका छन् । आजसम्म देशभर ९ हजार ८३२ जना क्‍वारेन्टिनमा रहेका छन् ।

बागमती प्रदेशमा १३ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १५० जना आईसीयूमा रहेका छन् । जसमा सबैभन्दा बढी बागमती प्रदेशका ६० जना रहेका छन् । 

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्ला सात रहेका छन् । मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा र काठमाडौं रहेका छन् । मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ।  हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ३३ हजार ४१८ पुगेको छ ।