रुपन्देहीमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु
बुटवल - रुपन्देहीमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बुटवलस्थित गौतमबुद्ध मुटु अस्पतालमा उपचाररत वृद्धा र भैरहवामा होम आइसोलेसनमा बसेका पुरुषको मृत्यु भएको हो ।
मुटु अस्पतालमा उपचाररत सिद्धार्थनगर नगरपालिका ७ की ६४ वर्षीया वृद्धाको शुक्रवार बिहान ८ : ४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । ती वृद्धा भदौ ४ गते अस्पताल भर्ना भएकी थिइन् । उपचारको क्रममा १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
उच्च रक्तचाप, मधुमेह, मृगौला रोग र निमोनियाको समस्या देखिएपछि वृद्धालाई भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो । यस्तै, सिद्धार्थनगर नगरपालिका वडा नं ८ का ४५ बर्षका पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ ।
चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउन गएका बेला ४ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि होम क्वारेन्टिनमै बसेका ती पुरुषको शुक्रबार मृत्यु भएको हो ।मिर्गौलाका बिरामी ती पुरुषलाई डायलासिस गराउन अस्पताल ल्याउने तयारी भैरहेको थियो । योसंगै रुपन्देहीमा शुक्रबारसम्ममा कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ ।
फेसबुक पेज Like गर्नुहोस