काठमाडौं - नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दाको पेसी सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ।
कांग्रेस गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा रिट दायर गरेको थियो ।
सोही दायर भएको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।
यसअघि चैत २७ गते कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासले विपक्षीहरू विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापा लगायतलाई पेसीको सूचना दिने आदेश गरेको थियो।
प्रारम्भिक सुनुवाइको क्रममा माघ ६ गते सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले तत्कालीन सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा केही प्रश्नको निरूपण हुन जरूरी देखिएको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।
विपक्षीहरू गगनकुमार थापा, विश्वप्रकाश शर्माविरूद्ध कारण देखाउ आदेश जारी गरी अग्राधिकार प्रदान गरिएको थियो।
गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरेर नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसमा आधिकारिकताको विवाद भएको थियो ।

.gif)


