काठमाडौं-आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनको लागि इलाम क्षेत्र नम्बर २ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट उम्मेदवार बनेका डम्बरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

उनले शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बाजागाजासहित पुगेर उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले जनाएको छ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका आज निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय दिएको थियो ।

यसअघि यही निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेका सुहाङ नेम्वाङ, नेकपा एकीकृत समाजवादीका जीतबहादुर राई, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बु थेगिम लगायतले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

त्यसैगरी जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का श्यामबहादुर दर्जीले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । खड्का यसअघि पनि सोही क्षेत्रबाट पराजित भएका थिए । नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग खड्का पराजित भएका थिए ।

इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो ।