काठमाडौं - गत आइतबार राजधानीको गोंगबुस्थित गणेश स्थानमा मृत फेला परेका रोल्पाका कृष्णबहादुर बोहोराको अण्डकोषमा हम्मरले प्रहार गरेर हत्या गरेको खुलेको छ ।

मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले संयुक्त पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकी कल्पना मुडभरीलाई सार्वजनिक गरेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार रक्सीमा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि कल्पनाले अण्डकोषमा हम्मरले प्रहार गरेकी थिइन् । त्यसपछि बोहोरा मरेको एकिन गरेपछि उनले घाँटी र खुट्टा छिनालेर आफैंले शव व्यवस्थापन गरेको खुलेको छ ।

कल्पना र कृष्णबहादुरबीच केही वर्षअघि फेसबुकबाट चिनजान भएको थियो । चिनजानपछि कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट बनाएर महिलाका निर्वस्त्र तस्बिरहरू राख्न थालेको बताइएको छ । शब शव व्यवस्थापनपछि उनी माइती जान्छु भन्दै एम्बुलेन्समा चितवन गएको खुलेको छ ।

उनले बयानमा उक्त हत्या घटनामा आफ्नो प्रत्यक्ष संलग्न रहेको पनि स्वीकारेकी छन् ।