लुम्बिनी प्रदेश सरकारबाट पनि बाहिरियो एमाले
काठमाडौं - नेकपा एमाले लुम्बिनी प्रदेश सरकारबाट पनि बाहिरिएको छ । बिहीबार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रदेश सरकारमा रहेका एमालेका पाँच जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
मुख्यमन्त्री जोखबहादुर महरालाई बिहीबार बेलुका सरकारी निवासमा पुगेर मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले बिहीबार प्रदेश सरकारबाट पनि बाहिरिएको हो । यसअघि आजै नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट पनि बाहिरिएको छ ।
लुम्बिनीका आर्थिक मामिला मन्त्री चेतनारायण आचार्य, शहरी विकास तथा खानेपानी मन्त्री भूमिश्वर ढकाल, आन्तरिक मामिला मन्त्री दिनेश पन्थी, सामाजिक विकास मन्त्री रत्न खत्री र वन तथा वातावरण मन्त्री अर्जुन केसीले राजीनामा दिएका छन् ।
आजै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ । यसको जानकारी प्रदेश प्रमुख र सभामुखको सचिवालयमा समेत गराइसकेको संसदीय दलका नेता लिला गिरीले जानकारी दिए । एमालेले समर्थन फिर्ता लिएसँगै लुम्बिनी सरकार अल्पमतमा परेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस