म्याग्दी पहिरोबाट २६ जनाको शव निकालियाे
काठमाडौं - म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङ र मालिका–७, विममा गएको पहिरोमा परेर बेपत्ता भएकामध्ये २६ जनाको शव फेला परेको छ ।
मराङमा १८ जना र विममा ८ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । मराङको पहिरोमा परेर बेपत्ता भएकामध्ये सुकना लामगादे, आशिस लामगादे, आयुष लामगादे, आयुसा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली र १८ वर्षीय प्रकाश केसीको मृत अवस्थामा शव भेटिएको हो ।
यस्तै ३३ वर्षीया हिरामति जुग्जाली, ७ वर्षीया करिश्मा जुग्जाली, ५ वर्षीया कन्चन जुग्जाली, ५५ वर्षीया गौशरा जुग्जाली, २० वर्षीया दिमा जुग्जाली, उनका ४ वर्षीया छोरी दिप्ती जुग्जाली र १ वर्षीय छोरा दिवान जुग्जालीको पनि शव भेटिएको छ ।
त्यस्तै मालिका–७, विमको पहिरोमा हराईरहेका ४० वर्षीय विष्णु पौडेल, ४ वर्षीया इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, विरबहादुर नेपाली, उनकी ३ महिनाको छोरी निशा नेपाली, विष्णु नेपाली र सन्दिप नेपालीको मृत अवस्थामा शव भेटिएको छ ।
मराङमा गएको पहिरोमा परी घाइते भएका १२ जनाको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । मराङ र विममा आएको पहिरोमा परेकामध्ये तीनजना जीवितै सम्पर्कमा आएको भए पनि अझै चारजना बेपत्ता भएका छन् ।
बेपत्तामध्ये ५१ वर्षीया जनिमा केसी, १६ वर्षीय सविन पुन, मालिका–७, विमको एलिसा केसी र खोलाले बगाउँदा मालिका–६, दरबाङका ४१ वर्षीय गीता रोका नभेटिएको प्रहरीले जनाएको छ ।
पहिरोमा परेर घाइते भएका सबैको प्रभु एअरको हेलिकप्टर र नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस