काठमाडौं - आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले नेदरल्यान्ड्सलाई हराएको छ । स्कटल्यान्डको फोर्थहिल क्रिकेट मैदानमा गएराति सकिएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले हराएको हो ।

नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९ ओभर २ बलमा २ सय २० रन बनाउँदा अलआउट भयो । नेदरल्यान्ड्सका वेस्ले बरेसीले सबैभन्दा धेरै ३६ रन बनाए ।

नेपालका लागि बलिङतर्फ डेब्यु गरेका नन्दन यादव र अनुभबी लेग स्पिनर सन्दीप लामिछानेले समान ३-३ विकेट लिए। ललित राजवंशीले २ विकेट लिए भने कुशल भुर्तेल र करण केसीले १-१ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । नेपालका आरिफ शेखले ८४ रन बनाए । नेदरल्यान्ड्सका लागि पल भान मिकरानले सर्वाधिक ४ विकेट लिए। मिचेल लेभिटले ३ विकेट र आर्यन दत्तले १ विकेट लिए।

योसँगै नेपालले लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो चौथौ चरणमा ४ मध्ये ३ खेल जितेको छ । नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले हराएको थियो ।

यस्तै दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको थियो । तेस्रो खेलमा भने नेपाल स्कटल्यान्डसँग २ रनले पराजित भएको थियो । नेपालले लिग–२ को तालिकामा १६ खेलमा १२ अङ्क जोड्दै सातौं स्थानमा छ ।