काठमाडौं - ब्राजिलका स्वास्थ्यमन्त्री नेल्सन टेइकले मन्त्री भएको एक महिना पनि नबित्दै आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले पत्रकार सम्मेलनमा आफूले राजीनामा दिएको कारण भने खुलाएका छैनन् । 

कोरोना भाइरसको महामारी नियन्त्रणका सम्बन्धमा राष्ट्रपति जयर बोल्सोनारोसँग मतभेद भएपछि उनले राजीनामा दिएका हुन् । स्वास्थ्यमन्त्रीमा नियुक्त भएदेखि नै महामारी नियन्त्रणका विषयमा नेल्सनको बोल्सोनारोसँग पटक-पटक विवाद हुँदै आएको थियो । 

राष्ट्रपति बोल्सोनारो कोरोना भाइरसको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन औषधिको प्रयोग गर्न सकिने बताउँदै आएका थिए । तर नेल्सनले यसमा पनि सहमत थिएनन् ।  ब्राजिलमा कोरोना भाइरसको संक्रमण बढ्दो छ । त्यहाँ दुई लाख १८ हजार मानिस संक्रमित भएका छन्, र १४ हजार आठ सय १७ जनाको मृत्यु भइसकेको छ । 

उच्च जोखिमकाबीच पनि राष्ट्रपति बोल्सोनारोले व्यायामशाला तथा सैलुनहरु खोल्न जारी गरेको आदेशको स्वास्थ्यमन्त्री नेल्सनले आलोचना गरेका थिए । बोल्सानारो लकडाउन हटाएर व्यवसायहरु सञ्चालन गर्ने पक्षमा रहँदै आएका छन् । उनले कोरोना भाइरस ‘सामान्य फ्लु’ भएको बताएका छन् ।