काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्वाचित कार्यसमितिको पहिलो बैठकमा अध्यक्षमा पराजित कमल थापा अनुपस्थित भएका छन्। पार्टी कार्यालय धुम्बाराहीमा सुरू भएको बैठकमा थापा उपस्थित नभएका हुन्।

नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचित कार्यसमितिको पहिलो बैठक बोलाएका थिए। बैठकमा राप्रपाका निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी सहभागी भए पनि अर्का निवर्तमान अध्यक्ष थापा भने बैठकमा सहभागी नभएका हुन्। पूर्वअध्यक्षहरू पदेन केन्द्रीय सदस्य हुने भएकोले उनलाई बोलाइएको थियो।

बैठकमा उनलाई सहभागी हुन जानकारी गराइए पनि उपस्थित नभएका हुन्। उनी नआउनुको कारणबारे स्पष्ट कारण खुलेको छैन।

थापाले आफू पराजय हुनुको कारण ‘निर्मल निवास’ रहेको बताएका छन्। निर्मल निवासको सचिवालयले आफूलाई हराएको आरोप उनले गराउँदै आफूसँग प्रमाण सुरक्षित समेत रहेको बताउँदै आएका छन्।