महसुल नतिरेका ३४ उद्योगको लाइन काटियो, ६ वटा तिर्न तयार
काठमाडौं-नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन सुविधाबाट विद्युत् उपभोग गरेर लामो समयदेखि महसुल नतिरेका ३४ वटा उद्योगको लाइन गएराति (बिहीबार) काटिदिएको छ । पटकपटक सूचना दिएर पर्याप्त म्याद दिँदा पनि महसुल नतिरेपछि लाइन काट्न बाध्य भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बिहीबार अबेरसम्म पनि किस्ताबन्दीको सुविधा लिएर रकम तिर्न उद्योगीहरूलाई सुझाव दिएका थिए । पछिल्लोपल्ट असोज २४ गते फूलापतीका दिन १५ दिनको म्याद दिएर प्राधिकरणले बक्यौता रहेका ४९ वटा उद्योगको नाम सार्वजनिक गरेको थियो ।
ती उद्योगमध्ये यसबीचमा ६ वटा मात्र सम्पर्कमा आएर किस्ताबन्दीको सुविधा लिएका छन् । उनीहरुले अब किस्ता–किस्तामा बक्यौता तिर्नेछन् ।
दुईवटा सरकारी उद्योग नै रहेका छन् । हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योग सरकारी स्वामित्वका भएकाले हिसाब मिलानका लागि प्राधिकरणले सरकारसँगै समन्वयका लागि प्रयास गर्ने भएको छ ।
प्राधिकरणका अधिकारीहरुका अनुसार, ७ वटा उद्योगले भने रकम नतिर्नका लागि यसबीचमा अदालतको अन्तरिम आदेश लिएका छन् । पछिल्लो सूचना प्रकाशित गरेपछि उनीहरु त्यसविरुद्ध अदालत गई अन्तरिम आदेश लिएको पाइएको छ । मुलुक लोडसेडिङमा छँदा ती उद्योगहरुले छुट्टै सुविधा लिएर विद्युत् उपभोग गरेवापतको महसुल अहिलेसम्म नतिरेका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस