टर्कीका राष्ट्रपतिद्वारा गृहमन्त्रीको राजीनामा अस्वीकृत
काठमाडौंं - टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनले गृहमन्त्रीको राजीनामा अस्वीकृत गरेका छन्।
गृहमन्त्री सुलेमन सोयलुले दिएको राजीनामा अर्दोआनले अस्वीकृत गर्नुभएको राष्ट्रपति कार्यालयले सोमबार जनाएको छ । छोटो सूचनाका आधारमा देशका धेरै सहरमा कर्फ्यु लगाउने पूर्ण जिम्मेवारी आफुलाई पूरा गर्न गाह्रो हुने भन्दै उनले राजीनामा दिएका थिए।
कोरोना भाइरसको सङ्क्रमण थप फैलिदै गएपछि टर्कीका धेरै सहरमा कफ्र्यु लगाउने घोषणा गरिएको थियो । ‘गृहमन्त्रीले दिएको राजीनामा स्वीकृत भएको छैन, उहाँले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिनुहुनेछ’, राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
गृहमन्त्री सोयलुले भने आफुलाई यस्तो सङ्कटको वेलामा काम गर्ने अनुभव नभएकाले काम गर्न नसक्ने ठानेर राजीनामा दिएको बताउनु भएको छ ।
‘यो जिम्मेवारी पुरा गर्नका लागि मेरो अनुभव नभएकाले मेरा जनता र राष्ट्रपतिले मलाई माफी दिनु हुनेछ भन्ने आशाका साथ राजीनामा दिएको छु’, उनले राजीनामा पत्रमा लेखेका थिए ।
गृहमन्त्री सोयलुले गत शुक्रबार मध्यरातिदेखि लागू हुनेगरी देशका ३१ प्रान्तमा ४८ घण्टे कर्फ्यु घोषणा गरेका थिए। टर्कीमा कोरोना भाइरसबाट एक हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने अरु ५५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस