सरकारले जारी गर्यो कोरोनाको नि:शुल्क उपचार पाउने मापदण्ड
काठमाडौं - सरकारले कोरोनाभाइरसको निशुल्क उपचार पाउने व्यक्तिहरूको वर्गीकरण गरेको छ। स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले एक सूचना जारी गर्दै निःशुल्क परीक्षण तथा उपचारका लागि लक्षित वर्गहरुको आधारबारे जानकारी दिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आर्थिक रुपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपांगता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायतको मात्रै सरकारले लक्षण देखिएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो ।
मन्त्रालयअन्तर्गत स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रले सार्वजनिक गरेको सूचीअनुसार पहिलो नम्बरमा विपन्नहरूको निस्शुल्क उपचार गर्ने भनिएको छ।
यससँगै कुनै पनि संक्रमितले आफू विपन्न भएको प्रमाण पत्र पेस गरे वा स्वयं घोषणा गरे भने त्यस्ता संक्रमितहरूको सरकारले निस्शुल्क उपचार गर्नेछ।
निःशुल्क उपचार तथा परीक्षणका लागि नागरिकलाई उपचारसम्बन्धी निर्देशिका अनुसार अशक्तताको प्रमाणपत्र वा स्वयं घोषणा, असहायको सिफारिस वा स्वयं घोषणा, असहाय एकल महिलाको प्रमाणपत्र वा स्वयं घोषणा गर्नुपर्ने सूचनामा उल्लेख छ ।
अति अपांगताको प्रमाणपत्र हुनुपर्ने, जेष्ठ नागरिकको हकमा ७० वर्ष पुगेको नागरिकताको प्रमाणपत्र वा उमेरको स्वयं घोषणा र अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरुले सम्बन्धित कार्यालयको परिचयपत्र वा सिफारिसका आधारमा निःशुल्क परीक्षण तथा उपचार पाउने भनिएको छ ।
केन्द्रले निःशुल्क भनिएका व्यक्तिहरुले कुनै बीमा कम्पनीबाट कोरोना बीमा गरेको भएमा परीक्षण र उपचार खर्च त्यही बीमा रकमबाट व्यहोर्ने स्पष्ट पारेको छ ।
माथि उल्लेखित प्रमाणपत्र वा आधारहरू संकलन नभएमा सम्बन्धित अस्पतालको सामाजिक सेवा ईकाई वा अस्पतालकै सिफारिसमा पनि निशुल्क सेवा लिन सकिने भनिएको छ।
फेसबुक पेज Like गर्नुहोस