काठमाडौं - अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पोर्न स्टार स्टोर्मी डेनियल्सलाई लगभग ५३ लाख रुपैयाँ तिर्नुपर्ने आदेश अमेरिकाको एक अदालतले दिएको छ । 

डेनियल्सले ट्रम्पसँग आफ्नो अफेयर रहेको बताएकी छन् भने ट्रम्पले त्यसलाई अस्वीकार गर्दै आएका छन् । ट्रम्पविरुद्ध डेनियल्सले लगाएको मुद्दा खारेज भएको थियो । डेनियल्सले ननडिस्क्लोजर अग्रीमेन्ट (कुरा नखुलाउने सहमति) का विषयमा मुद्दा लड्दा भएको खर्चको भरपाइस्वरूप क्यालिफोर्निया सुपेरियर कोर्टका न्यायाधीशले ट्रम्पलाई ४४ हजार १०० डलर तिर्न भनेका छन् । 

आदेश सोमवार दिइएको भए पनि डेनियल्सका वकिलहरूले शुक्रवार अन्लाइन पोस्ट गरेका हुन् । डेनियल्सको वास्तविक नाम स्टेफानी क्लिफोर्ड हो र उनले सन् २००६ देखि २००७ सम्म ट्रम्पसँग अफेयर राखेको बताइन् । उनले ट्रम्पका पूर्व वकिल माइकल कोहेनसँग एक लाख ३० हजार डलर बराबरको ननडिस्क्लोजर अग्रीमेन्टमा हस्ताक्षर गरेकी थिइन् । 

क्लिफोर्डले सन् २०१८ मा ट्रम्पविरुद्ध मुद्दा दायर गरेकी थिइन् र ननडिस्क्लोजर अग्रीमेन्टबाट मुक्त हुन चाहेकी थिइन् । त्यसको जवाफमा ट्रम्प र उनको लिगल टीमले मुद्दा दायर गर्ने वा ननडिस्क्लोजर अग्रीमेन्ट पालन गर्न लगाउने काम नगर्ने सहमति अदालतबाहिर गरेका थिए । त्यसपछि डेनियल्सको मुद्दा खारेज गरिएको थियो ।