अत्यावश्यक सामग्री भन्दै पिज्जा र मःमजस्ता खानेकुरा होम डेलिभरी गर्नेहरू प्रहरी नियन्त्रणमा
काठमाडौं - निषेधाज्ञाको बेला 'होम डेलिभरी र टेक अवे' सेवा प्रदान गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अत्यावश्यक सामग्री भन्दै पिज्जा र मःमजस्ता खानेकुरा तथा अत्यावश्यक सामग्रीको सूचीमा नपर्ने सामानहरू होम डेलिभरी गरेको भन्दै उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट ठूलो संख्यामा अनलाईन सेवा प्रदायक कम्पनीका कर्मचारी र व्यवसायीहरुलाई नियन्त्रणमा लिएको हो। यूजी केककी सञ्चालिका निकिता आचार्य, फूडमाण्डुका सञ्चालक मनोहर अधिकारी, एम एक्सप्रेसका सञ्चालक संगम सिंह, अनलाइन बिक्री केन्द्र किरानाका सागर भट्ट, विग मार्टका कर्मचारीलगायत ६५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीहरुलाई ४ घण्टा प्रहरी कार्यालय नजिकको होल्डिङ स्टेशनमा राखिएको थियो। बिहिबार बेलुकी जिल्ला प्रशासन कार्यालयले चेतावनीसहित छाड्न प्रहरीलाई निर्देशन दिएको थियो। प्रहरीले अनावश्यक सामान ओहोरदोहोर नगराउने शर्तमा उनीहरुलाई छाडेको छ। ठूलो संख्या भएकाले पनि उनीहरुलाई हिरासतमा राख्न नसकिएको प्रहरीका भनाई छ।
अत्यावश्यक सामग्रीहरु डेलिभरी गर्न/गराउन जिल्ला प्रशासन कार्यालयले नियमानुसार छुट दिएपनि सो नियमको दुरुपयोग गरी केही अनलाईन सेवा प्रदायकहरुले अत्यावश्यक नरहेका इलेक्ट्रोनिक, रेष्टुरेन्टमा बनेका खानेकुरा, डोरम्याट, फेन्सीलगायतका सामग्रीहरु बोकेर सडकमा ओहोरदोहोर गरेको पाइएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
उनका अनुसार अत्यावश्यक बाहेकका सामान डेलिभरी गरेको पाइएपछि केहीलाई नियन्त्रणमा लिइएको हो। प्रशासनले अत्यावश्यक भनेर सूचनामा उल्लेख नगरेका सामान समेत ढुवानी हुन थालेपछि नियन्त्रणमा लिनुपरेको उनको भनाई छ। उनले भने, ‘केक, मम, पिज्जाजस्ता खानेकुरा अत्यावश्यक सेवामा पर्दैनन्, यस्तो बेलामा होटलबाट अर्डर गरेर खानेकुरा खानु राम्रो होइन, घरमा पकाउन आवश्यक पर्ने सामग्री सहजै किन्न पाइन्छ, तर केक, पिजा, वर्गर, मम, चाउमिनजस्ता खानेकुरा अनलाईनमार्फत अर्डर गरेर खानु राम्रो भएन।’ उनले अनलाइनमार्फत् अडर गरिएको सामान घरघरमा पुर्या’उन जाँदा संक्रमण फैलन सक्ने भय देखिएकाले पनि प्रहरीले कडाई गरेको हो।
फेसबुक पेज Like गर्नुहोस