अभिनेत्री साम्राज्ञीद्धारा आफू दुर्व्यवहारको शिकार भएको खुलासा
काठमाडौं - अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्ममा काम गर्ने क्रममा आफू दुर्व्यवहारको शिकार भएको बताएकी छन्। केही दिनअघि सामाजिक सञ्जाल (इन्स्टाग्राम) मा भिडियो पोस्ट गर्दै उनले उक्त कुरा सार्वजनिक गरेकी हुन्।
उनले अहिलेसम्म आठवटा फिल्ममा काम गरेकी छिन्। तीमध्ये तीनवटामा नराम्रो अनुभव भोग्नुपरेको उनको भनाइ छ।
आफूमाथि भएका दुर्व्यवहारका घटना बाहिर नल्याउन पटकपटक दबाब आउनुका साथै घटना सार्वजनिक गरे फिल्मी करिअर नै खत्तम पारिदिने डरसमेत देखाइएको उनले भनेकी छन्।
‘मैले १७ वर्षको उमेरमै चलचित्र क्षेत्रमा डेब्यू गरेँ। त्यति बेला नेपाली चलचित्र क्षेत्र सानो भएकाले सबै कुरा बाहिर ल्याउनु हुँदैन भनियो,ु उनले भिडियोमा भनेकी छन्, यहाँ जसको शक्ति छ, उसैले यो क्षेत्र नियन्त्रणमा लिएको हुन्छ। यस्तो बेला म भर्खर चलचित्रमा आएको मान्छेले यो कुरा बाहिर ल्याउँदा मेरो लागि ढोका बन्द हुन्छ भनेर सम्झाउँथे।’
आफूले विश्वास गरेको र अभिभावकझैं मान्ने नजिकको मान्छेले नै त्यस किसिमको हर्कत गरेको उनको भनाइ छ।
‘अंकलजस्तो उमेरको मान्छेलाई त्यही भनेर सम्बोधन गर्दा ‘दाइ’ भनेर बोलाऊ भन्थे,’ उनले भनिन्, ‘कामको विषयमा केही कुरा गर्नुपरे गालामा टाँसिएर बोल्न आउँथे। त्यो कुरा अलि पर बसेर भन्न सकिँदैन थियो र
उनले अगाडि भनिन्, मलाई त्यतिबेला नै भित्रबाट घिन लागेको थियो, तर हाँसेरै बोलिदिएँ। मेरो परिवारलाई फिल्म क्षेत्रको विषय केही ज्ञान छैन। मैले पनि त्यतिबेला यो कुरा नजरअन्दाज गरेँ तर आखिरमा सबैको असली रूप बाहिर आएको छ।’
साम्राज्ञीले भुवन केसी निर्माता रहेको ‘ड्रिम्स’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेकी थिइन्। उनी भुवनकै छोरा अनमोल केसीसँग पहिलोपटक पर्दामा देखिएकी थिइन्। उक्त फिल्म व्यावसायिक रूपमा सफल भयो। यसबाट चलचित्र क्षेत्रमा अगाडि बढ्न प्रोत्साहन मिले पनि सँगसँगै खुट्टा तान्ने मान्छेहरूको सामना गर्नुपरेको उनले बताएकी छन्।
‘हरेक फिल्मको प्रचारप्रसारमा जाँदा मलाई तपाईं किन घमण्डी हुनुहुन्छ भनेर सोधिन्थ्यो। मलाई भेट्दै नभेटेको, चिन्दै नचिनेको मान्छेले पनि म घमण्डी छु भनेर धारणा बनाइसकेका थिए। यसले मलाई दिक्क बनाउथ्यो। अन्तिममा थाहा पाएँ, जोसँग मैले काम गर्दै आएको थिएँ, उनीहरूले नै मेरोबारे अफवाह फैलाएका रहेछन्,’ उनले भनेकी छन्।
फेसबुक पेज Like गर्नुहोस