विपत् व्यवस्थापनमा सबैको समन्वय आवश्यक छ : प्रम देउवा
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले विपत् व्यवस्थापन गर्न तीनवटै तहका सरकारको आपसी सहकार्य आवश्यक रहेको बताएका छन् । २४औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विपत् व्यवस्थापनमा सबैको समन्वय आवश्यक हुने बताएका हुन् ।
‘०७२ सालको भूकम्प पश्चात विपत् व्यवस्थापन लगायतका विषयमा महत्वपूर्ण अनुभव हासिल गरिसकेका छौं । भूकम्प प्रतिरोधी भवन निर्माणका लागि दक्ष जनशक्ति निर्माण भएको छ,’ उनले भने, ‘विगतका कमी कमजोरीबाट पाठ सिकेर अघि बढ्नु बुद्धिमानी हुन जान्छ । राहत र उद्दारका कार्यक्रममा प्रभावकारी रुपमा लाग्नुपर्छ ।’
प्रधानमन्त्री देउवाले जनशक्ति सेवालाई तत्काल उपयोग र आवश्यक परेको बेला प्रयोग गर्नका लागि तयारी अवस्थामा राख्ने गरी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई आग्रह पनि गरे । ‘विपत् व्यवस्थापनमा तीनवटै तहको सरकारले आपसी सहकार्य र समन्वय गर्नुपर्ने हुन्छ । भूकम्प आफैंमा समस्या होइन । अव्यवस्थित शहरीकरण, भूकम्प प्रतिरोधी भवन निर्माण नहुनु पनि हो,’ उनले भने,‘भवन संहिता पालना गरेर गुणस्तरीय भवन निर्माण गर्न सके प्रभावकारी हुन सक्छ। यसमा तीनवटै तहका सरकारको पनि ध्यान जानुपर्छ ।’
फेसबुक पेज Like गर्नुहोस