काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपश्चात अब सबैको ध्यान मनोनित केन्द्रिय सदस्य र पदाधिकारीमा केन्द्रीत भएको छ । रास्वपाको विधानअनुसार पार्टी पदाधिकारी र केन्द्रीय समितिको ठूलो हिस्सामा सभापति रवि लामिछानेले मनोनयन गर्न सक्छन् ।

रास्वपा विधानमा परिमार्जन गरेर केन्द्रीय सदस्य संख्या १५८ पुर्याइएको छ । यसमध्ये ९९ जना महाधिवेशबाट निर्वाचित भएर आएका छन् । ७ जना प्रदेश सभापतिहरु पदेन केन्द्रीय सदस्य बन्ने विधानमा व्यवस्था छ । बाँकी ५१ जना सभापतिले मनोनित गर्नेछन् । गत संसदीय निर्वाचनहरु विभिन्न पार्टी र समूहहरु रास्वपामा मिसिएका थिए । पार्टीमा समायोजन भएर आएकाहरुलाई समेट्ने हेतु सभापतिले मनोनित गर्नसक्ने संख्या बढाइएको हो । समायोजन भएर यसअघि रास्वपाको केन्द्रीय सदस्य बनाइएकाहरु सांसद वा मन्त्री नरहेको अवस्थामा उनीहरुलाई केन्द्रीय समितिमा सभापतिले मनोनित गर्ने छन् ।

बालेनको समूहबाट सबैभन्दा बढी २६ जनालाई रास्वपाको केन्द्रीय समितिमा समेटिएको थियो । उनीहरुमध्य महाधिवेशनमा चुनाव नलडेका र कुनै लाभको पदमा नरहेकाहरुलाई केन्द्रीय समितिमा लैजाने समझदारी रहेको एक पदाधिकारीले जानकारी दिए । उक्त समझदारीअनुसार बालेन समूहबाट करिब २ दर्जन जनाको सूची पार्टीलाई बुझाइएको छ ।

बालेन समूहबाट बालेनसहित सुनील लम्साल, भुपदेव शाह, सस्मित पोखरेल, सागर ढकाल, लक्ष्मण थारू, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश पौडेल, सन्तोष गिरी, नमिता यादव, सरिता ज्ञवाली, सुशान्त वैद्य, लक्ष्मी वर्देवा, शिव यादव, रोहन कार्की, मधुसुदन ढकाल, अनन्तराज तिमिल्सिना, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउद केन्द्रीय सदस्य मनोनित भएका थिए । उनीहरुमध्ये सुनील, गणेश र सस्मित मन्त्री छन् । पूर्वाधारमन्त्री सुनील लम्साल र पर्यटनमन्त्री गणेश पौडेलले महाधिवेशनको चुनावी प्रतिस्पर्धामा भाग लिएनन् । अपवादकारुपमा उनीहरुलाई सभापतिले उपसभापतिमा मनोनित गर्ने तयारी छ । सस्मित र गणेशले भने केन्द्रीय सदस्य निर्वाचनमा भाग लिएर जितिसकेका छन् । यस्तै सागर ढकाल, केपी खनाल र खगेन्द्र सुनार सांसद छन् ।

उनीहरु पनि महाधिवेशनमै चुनाव जितेर केन्द्रीय सदस्यमा निर्वाचित भए । सांसद वा मन्त्री नरहेका रोहन कार्की पनि महाधिवेशनमा चुनाव लडेरै केन्द्रीय सदस्य बन्न सफल भए । बाँकी रहेका सबैलाई केन्द्रीय सदस्यमा मनोनित गर्न नेतृत्वसमक्ष सिफारिस गरिएको छ । उनीहरुबाहेक थप ३ जना जेनजी युवाहरुलाई पनि सूचीमा राखिएको स्रोतले जानकारी दियो ।

रास्वपाले पार्टीको निर्वाचनमा भाग नलिएका केही संस्थापक केन्द्रीय सदस्यलाई पनि मनोनयन गर्ने तयारी गरेको छ । महाधिवेशनमा भाग लिएर हारेकाहरुलाई भने मनोनित गरिने छैन । रास्वपाका निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको सपथग्रहणपछी आजै केन्द्रीय समिति वैठक बस्ने तयारी छ । उक्त बैठकमा पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनबारे छलफल हुने स्रोतले बतायो ।