काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हात पारेको छ।

टियु क्रिकेट मैदानमा आज काठमान्डु गुर्खाजलाई ७३ रनले पराजित गर्दै सुदूरपश्चिमले दोस्रो जित हात पारेको हो ।

सुदूरपश्चिमका बलर नरेन साउदले ५ विकेट लिएपछि १६८ रनको लक्ष्य पछ्याएको काठमान्डु गुर्खाज १५.५ ओभरमा ९४ रनमै अलआउट भयो ।

नरेन जारी एनपीएद्यमा एकै खेलमा ५ विकेट लिने दोस्रो बलर तथा पहिलो नेपाली खेलाडी बने ।

यसअघि चितवन राइनोजका पाकिस्तानी बलर सोहल तनविरले काठमान्डु विरुद्ध नै ५ विकेट लिएका थिए ।

बलिङमा सुदूरपश्चिमका नरेन साउदले ५ विकेट लिए। उनले ३.५ ओभरमा १९ रन खर्चिए। अभिनास बोहराले २ विकेट लिए। उनले ३ ओभरमा १ मेडन राख्दा १२ रन मात्र दिए।

त्यसअघि काठमाडौं गुर्खाजविरूद्ध सुदूरपश्चिम रोयल्सले ६ विकेटको क्षतिमा १६७ रन जोड्यो। टस जितेको काठमाडौंले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि स्कटिस ब्याटर ब्रान्डन मक्मलेनले अर्धशतक प्रहार गरे।

उनले ३६ बलमा ५३ रन प्रहार गरे। त्यसका लागि उनले ३ चौका र ४ छक्का प्रहार गरे। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले जोडेको ४३ रन पनि महत्वपूर्ण सावित भयो।

१९औं ओभरमा काठमाडौंका करण केसीको बलमा क्याच हुनुअघि दीपेन्द्रले २५ बलमा ३ चौका र २ छक्का प्रहार गरे। ओपनिङमा आएका सइफ जबइले ११ रन मात्र जोड्न सके।

अर्का ओपनिङ ब्याटर विनोद भण्डारीले भने २८ बलमा ३५ रन बनाए। शाहब आलमको एलबिडब्लूको धरापमा पर्नुअघि उनले २ चौका र २ छक्का प्रहार गरेका थिए। रोहन मुस्ताफ भने ४ रनमा रसिद खानबाट बोल्ड भए।

आरिफ शेख भने रनआउट भए। दीपेन्द्रसिंह ऐरीसँग समन्वय मिल्न नसक्दा उनी ३ रनमा आउट हुन पुगेका थिए। स्कट कुगेलेइनले नटआउट ७ रन जोडे।

बलिङमा काठमाडौंका रसिद खानले २ विकेट लिए। उनले चार ओभरमा २० रन दिए। करण केसी, शाहब आलम र गेरार्ल्ड इरासमसले १-१ विकेट लिए।

काठमाडौंको भने यो दोस्रो हार हो। यसअघिका दुई खेलमा काठमाडौंले एक हार र एक जित निकालेको थियो।